लण्डन, (एएफपी)– बेलायतको मन्त्रीपरिषद्ले ब्रेजिक्टसम्बन्धी सम्झौताको मस्यौदा पारित गरेपछि त्यसले अर्थतन्त्रमा समेत असर पारेको छ ।
मुलुकको मुद्रा मूल्यमा सकारात्मक प्रभाव परेको देखिएको छ । शुक्रबार बेलायती मुद्रा पाउण्डको मूल्यमा वृद्धि भएको अधिकारीहरूले जनाएका छन् । त्यसैगरी तेलको मूल्य पनि फेरी एक पटक बृद्धि भएको छ, तर शेयर बजारमा भने भिन्नभिन्न नतिजा देखिएको छ ।
सरकारी अधिकारीहरुले झण्डै ०.३५ प्रतिशतले मुद्राको मूल्यमा वृद्धि भएको जनाएका छन् । यो उतारचढाव विगत दुई बर्ष यताकै सवैभन्दा धेरै भएको बताइएको छ
। सरकारले पारित गरेको मस्यौदाप्रति असहमति जनाउँदै बेलायतका मन्त्रीहरुले नै राजीनामा दिइरहेका बेला मुद्रा मूल्य भने बढेकोे हो ।
ब्रेक्जिट मामिला मन्त्री डोमिनिक राबले आफ्नै सरकारले बनाएको ब्रेक्जिट सम्झौताको मस्यौदाप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् । उनले मस्यौदालाई आफूले समर्थन गर्न नसक्ने बताउ“दै पदबाट राजीनामा दिएको बताएको समाचारमा जनाइएको छ ।
यसअघिका डेभिड डेभिसले राजीनामा दिएपछि राब केही महिना अगाडि ब्रेक्जिट मामिला मन्त्रीमा नियुक्त भएका थिए । त्यसैगरी यही सम्झौताको मस्यौदाप्रति असहमति जनाउँदै शैलेश वाराले उत्तरी आयरल्याण्डको राज्यमन्त्री पदबाट राजीनामा दिए । उनीहरुसहित अन्य कैयौँ मन्त्रीले पनि मस्यौदाप्रति असहमति जनाएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।
मन्त्रिपरिषद्का अन्य सदस्यलाई पनि राजीनामा दिने दबाव परेकाले मन्त्रिपरिषद् नै अप्ठ्यारोमा पुगेको छ । तर, प्रधानमन्त्री थेरेसा मेले भने ब्रेक्जिट सम्झौताको मस्यौदालाई आफ्नो मन्त्रिपरिषद्ले समर्थन गरेको र राष्ट्रको हितमा रहेको दाबी गरेका छन् ।
लामो समयदेखिको पटकपटकका छलफलपछि युरोपेली संघबाट बेलायत बाहिरिनेसम्बन्धी सम्झौताको मस्यौदा बेलायतको मन्त्रिपरिषद्ले बुधबार पारित गरेको हो ।
महिनौँदेखि अन्योलमा रहेको सम्झौताबारे बेलायतको मन्त्रिपरिषद्ले पारित गरेको ब्रेक्जिट सम्झौतासम्बन्धी मस्यौदालाई अन्तिमरूप दिन अब २७ सदस्य रहेको ईयूका नेताहरूको शिखर बैठक बोलाइने छ ।