काठमाडौं । विश्व बैंकले नेपालको विकासका लागि नीतिगत सुधार अपेक्षा गरिएजस्तो सकारात्मक नरहेको बताएको छ । विश्व बैंकमा नेपाल निर्देशक चिमाओ फ्यानले आफूहरुले सरकारले गरेका नीतिगत परिवर्तन र सुधारलाई ध्यानपूर्वक हेरेर निश्कर्ष निकालिएको बताए ।
काठमाडौंमा बिहीबार भएको एक कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडा पनि सहभागी कार्यक्रममा फ्यानले नेपाल सन् २०३० सम्म मध्यमस्तरको आय भएको मुलुक बन्ने भएकाले सरकार रेमिट्यान्समा भन्दा अन्तै केन्द्रित भएको देखिएको बताएका थिए । तर, सार्वजनिक स्रोत पर्याप्त नभएकाले निजी क्षत्रेको सक्रिय सहभागिता आवश्यक रहेको उनले
बताए । विश्व बैंकले यसकै लागि जोड गरिरहेको बताउँदै निर्देशक फ्यानले विकासलाई गतिमा लैजान आर्थिक र राजनीतिक वातावरण सुध्रिनुपर्ने बताए ।
लगानी आकर्षित गर्न पूर्वाधार, ठूलो बजार, तथा पारदर्शी र सहयोगी नीति आवश्यक रहेकोमा जोड दिए । उनले सरकारले त्यसका लागि काम गर्नुपर्ने समेत बताएका थिए ।
विश्व बैंकले नेपाल भूराजनीतिक रुपमा अन्य देशभन्दा असहज अवस्थामा रहेको भन्दै यसैकारण नेपालले हिजो भन्दा राम्रो मात्रै हैन, अरुको भन्दा राम्रो ढंगले काम गर्नुपर्ने आवश्यकता औंल्याए ।
‘सरकारले केही गर्न खोजेको छ । तर, पहिले नै धेरै काम गर्न बाँकी थिए, त्यसैले अहिले भएका काम पर्याप्त छैन्’, निर्देशक फ्यानले भने,’ अब नेपालले विकासमा लागि सबै विकल्पहरु प्रयोग गरेर अघि बढ्नुपर्छ ।’
कार्यक्रममा अर्थमन्त्री खतिवडाले अन्तर्राष्ट्रिय ब्यापार युद्धले नेपालजस्ता मुलुकलाई परेको असरबारे विश्व बैंक नबोलेको गुनासो गरे । उनले निजी क्षत्रेको लगानीलाई परिचालन गरेर सरकार अघि बढ्ने पक्षमा रहेको भन्दै त्यसका लागि बाह्य लगानी आकषिर्त गर्ने गरी कानुन र नीतिहरु परिमार्जन गर्ने क्रममा रहेको बताए ।