संयुक्त राष्ट्रसङ्घ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाको भ्रमणमा जाने भएका छन्।
उत्तर कोरियाका विदेशमन्त्री री योङ होसँग राष्ट्रसङ्घमा भएको भेट पश्चात् अमेरिकी विदेश मन्त्रालयले यस्तो जानकारी दिएको हो। विदेशमन्त्री पोम्पोओले ट्वीट गर्दै उत्तर कोरियाली समकक्षीसँगको भेट अत्यन्त सकारात्मक रहेको बताएका छन्।
धेरै काम भएका छन्, तर त्योभन्दा पनि अझ अगाडि बढ्ने दुवै देशको चाहना भएको उनले बताए।
विदेशमन्त्री पोम्पेओ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता
कीम जोङ–अनबीच दोस्रो शिखर बैठकको तयारीका लागि उत्तर कोरिया भ्रमणमा जान लागेका हुन्। उत्तर कोरियाले यसअघि सिंगापुरमा भएको दुबै नेताको पहिलो शिखर बैठकमा व्यक्त प्रतिबद्धता बमोजिम आणविक कार्यक्रम बन्द गर्नुपर्ने माग अमेरिकाले राख्दै आएको छ।
गत साता दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले उत्तर कोरिया भ्रमणका क्रममा आणविक कार्यक्रम बन्द गर्ने बारेमा भएका सहमतिले अमेरिका–उत्तर कोरियाबीच शिखर बैठकका लागि वातावरण बनेको बताइन्छ।