काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई कागजविहीन बनाउने काम सुरु गरेको छ । मन्त्रालयले ७५३ स्थानीय तह र ७७ जिल्ला समन्वय समितिलाई नै कागजविहीन बनाउनका लागि ‘अफिस अटोमेशन प्रणाली’ ल्याउन तयारी गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सहकार्यमा मन्त्रालयले उक्त प्रणाली ल्याउन थालिएको मन्त्रालयका सूचना प्रविधि शाखाका कम्प्युटर अधिकृत देवेन्द्र झाले बताए । प्रणाली प्रयोगमा ल्याइसकेपछि स्थानीय तहका काम पूर्णतया डिजिटलमा जाने छन् ।
उनले भने, ‘सेवाग्राहीका कामको लागि मूल दर्तामा कुनै
कागज ‘स्क्यानिङ’ गरिने छ ।’ उनले अनि त्यही कागज नै अन्य शाखाका कम्प्युटरको माध्यमबाट पु¥याइ काम हुने बताए । उनका अनुसार ‘अफिस अटोमेशन प्रणाली’को काम आधा सकिएको छ ।
यस्तै कुनै विषयमा टिप्पणी उठाइएको छ भने त्यसलाई पनि स्क्यानिङ गरी कम्प्युटरमा राखिने छ र त्यहीबाट काम हुनेछ । कम्प्युटर अधिकृत झाले युजर, एप्लिकेशन, वेभवेस एप्लिकेशनको काम भइरहेको बताए । प्रणाली बनाएर चाँडै सञ्चालन ल्याइने बताइएको छ । मन्त्रालयले तयार पारिसकेपछि उक्त प्रणाली निःशुल्करुपमा सबै स्थानीय तहलाई उपलब्ध गराउनेछ ।
फोनमार्फत स्थानीय तहका सूचना जानकारी दिनका लागि मन्त्रालयले अडियो सेवा सञ्चालन गर्न निर्देशन दिइसकेको हो । मन्त्रालयका सूचना अधिकारी रमेश न्यौपानेका अनुसार सबै स्थानीय तहमा इन्टरनेट सेवा नपुगेकाले डिजिटल बनाउन समस्या परेको छ । उनका अनुसार करीब १५० स्थानीय तहमा इन्टरनेट पुगेको छैन । (रासस)