काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान मन्त्रिमण्डलमा राम्रो काम गर्ने मन्त्रीलाई नहटाउने स्पष्ट पारेका छन्।
सरकारलाई अस्थिर बनाउन चाहनेले मन्त्रीहरु हेरफेर हुने हल्ला चलाएकोको भएपनि उनीहरुलाई थप हौसला प्रदान गरिने उनले बताए।
जिल्ला समन्वय समिति महासंघ नेपालको पहिलो राष्ट्रिय भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘केही हुनेवाला छैन । राम्रो काम गरिरहेमा कुनै मन्त्री हट्ने छैनन्।’
यसअघि सरकारका केही मन्त्रीहरुको कार्यशैलीमा प्रश्न उठेपछि मन्त्रीहरु हेरेफेर हुने चर्चा चलेको थियो। त्यहीबेला नेकपा अध्यक्ष प्रचण्डले पत्रकारहरुसँगको भेटमा सरकारको गम्भीर
समीक्षा हुने अभिव्यक्ति दिएका थिए।
प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा पार्टी र सरकार बलियो बनेकाले विरोधीले हमला गरिरहेको बताए। तर आलोचना र हमलाबाट कोही डराउनु नपर्ने उनले बताए।
प्रधानमन्त्री ओलीले भने, ‘सरकार दूरदर्शी र स्पष्ट सोचका साथ विकास र समृद्धिका लागि काम गरिरहेको छ। छिमेकीसँगको सम्बन्ध सुधार र सहकार्य बढाउँदै हामी अघि बढिरहेका छौँ। कतिपयलाई यो मन परिरहेको छैन।’
कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडा, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापालगायत मन्त्रीहरु उपस्थित थिए।