काठमाडौं । सभामुख कृष्णबहादुर महराले २ असोजभित्र संविधानअन्तर्गतका मौलिक हकसम्बन्धी विधेयक संसद्बाट पारित भइसक्ने बताएका छन् ।
बिहीबार उनले प्रतिनिधिसभामा पेश भएका मौलिक हकसम्बन्धी विधेयकको अवस्थाका बारेमा जानकारी गराएका हुन् । सभामुख महराले आगामी ३ असोजसम्म मौलिक हकसम्बन्धी कानून पारित भइसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको जानकारी गराउँदै भने, ‘विधेयकमा सहमति गरी निर्धारित समयमै पारित गर्नका लागि आजै मैले प्रमुख दलका शीर्ष नेतालाई भेटेर आग्रह गरिसकेको छु ।’
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली, नेपाली
कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा संयुक्तरुपमा भेटेर सोबारेमा आग्रह गरेको उनले बताए ।
प्रतिनिधिसभामा सरकारले दर्ता गराएका जम्मा २६ विधेयकमध्ये ६ वटा विधेयक प्रमाणीकरण भइसकेका छन् भने बा“की २० मध्ये ११ मौलिक हकसम्बन्धी विधेयक छन् ।
मौलिक हकसम्बन्धी विधेयकमध्ये पाँच प्रतिनिधिसभामा छलफलका क्रममा रहेको भने ६ वटा विधेयक सम्बन्धित संसदीय समितिमा दफावार छलफलका क्रममा रहेको सभामुख महराले बताएका छन् । मौलिक हकबाहेक अन्य विधेयक भने असोज २ गतेपछि पारित गर्ने गरी प्रक्रिया अघि बढाइएको छ ।
साथै, सभामुख महराले शुक्रबार २२ भदौदेखि हुने आफ्नो चीन भ्रमणका बारेमा समेत जानकारी गराए । उनी चीनको केन्द्रीय सरकार र ल्हासा सरकारको निमन्त्रणामा चौथो सांस्कृतिक पर्यटन एक्स्पोमा सहभागी हुन तिब्बतस्थित नेपालको कन्सुलर कार्यालयको पुनर्निर्माण शिल्यान्यास गर्न तथा ट्रान्स हिमालय बेल्ट एण्ड रोड इन्टरनेशनल कोपरेशन फोरमको छलफलमा सहभागीका लागि त्यसतर्फ जान लागेका हुन् ।