काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल चारदिने भ्रमणका लागि बिहीबार नया“दिल्ली प्रस्थान गरेका छन् । यसअघि साताव्यापी भ्रमण भनिए पनि उनी तीन दिन अगाडि नै फर्केने गरी भारत गएका हुन् ।
भारत प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भएका सहमति र समझदारीको सुदृढ कार्यान्वयनको वातावरण निर्माण गर्नु आफ्नो भ्रमणको मुख्य उद्देश्य भएको बताए ।
पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले
भने, ‘भ्रमणको कुनै राजनीतिक एजेण्डा छैन, विकासको एजेण्डा तथा नेपाल र भारतबीच द्विपक्षीय सहमति, समझदारी र विगतमा भारत सरकारले गरेका थुप्रै प्रतिबद्धताको स्मरण गराउने छु ।’
नेपालको संसद्मा सम्बोधनका क्रममा भारतीय प्रधानमन्त्रीले गर्नुभएको सहयोगको प्रतिबद्धता एवं भूकम्पपछिको पुनर्निर्माणका लागि नेपाललाई गर्ने सहयोगसम्बन्धी विषय पनि भ्रमणका क्रममा छलफल गरिने उनले बताए ।
अध्यक्ष दाहलले पछिल्लो चरणमा दुई देशका प्रधानमन्त्रीबीच भएको सहमति कार्यान्वयनका लागि सकारात्मक वातावरण बनाउन भ्रमणले योगदान गर्ने बताए । उनले भने, ‘समृद्ध नेपाल र सुखी नेपाल’को राष्ट्रिय नारालाई सार्थक बनाउन भारत सरकार एवं भारतीय बुद्धिजीवीसँग छलफल गरेर दुई देशको सम्बन्धलाई अझ सुदृढ गर्न मेरो भ्रमण केन्द्रित हुनेछ ।’
उनले भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराजलगायत राजनीतिक नेतृत्वसँग आपसीसम्बन्ध र द्विपक्षीय हितका बारेमा छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ ।