काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा भाग लिने सांसदहरुले कञ्चनपुरमा भएको बलात्कारको घटना, स्थानीय तहमा भएको भनिएको करवृद्धिलगायत मुलुकका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद सुजाता कोइरालाले मुलुकलाई विकास र समृद्धिको मार्गमा लगेमा प्रतिपक्षले पूर्णरुपमा सहयोग र समर्थन गर्ने प्रतिबद्धता जनाइरहेको बेला जनतालाई मार पर्ने ढंगबाट कर बढाएको भनी सरकारको आलोचना गरिन् । उनले भनिन्, ‘अहिले स्थानीयस्तरबाट जथाभावी कर लगाउनाले आम जनता मारमा परिरहेका छन्, यस विषयमा सरकारले विशेष ध्यान दिन
आवश्यक छ ।’
त्यस्तै, नेकपा (नेकपा)का सांसद सूर्य पाठकले वर्तमान सरकारले उचित वैदेशिक नीति, संघीयता कार्यान्वयन र सुशासन स्थापनाका लागि सराहनीय काम गरिरहेको धारणा व्यक्त गर्नुभयो । चीन र भारतसँग पनि समानताका आधारमा वैदेशिक नीति स्थापित गराएको बताउँदै उनले भने, ‘वर्तमान सरकार गठनपछि नेपालले चीन र भारतबीच सन्तुलित सम्बन्ध राख्ने गरी बढाएको नीतिको चौतर्फीरुपमा स्वागत भएको छ, स्थानीय तहले लिएको करबारे प्रतिपक्षले अनावश्यकरुपमा हल्ला मचाउने मात्र काम गरेको छ ।’
सांसद दीपकप्रकाश भट्टले कञ्चनपुरमा भएको बलात्कारमा संलग्न दोषीलाई छानबिनका आधारमा दोषी ठह¥याउनुपर्नेमा आन्दोलनको भरमा दोषी खडा गर्ने प्रयास भइरहेकोतर्फ सदनको ध्यानाकर्षण गराए । सांसद मोहन आचार्यले रसुवाको विभिन्न स्थानमा गएको बाढीपहिरोबाट भएको जनधनको क्षतिबारे सदनलाई जानकारी गराउँदै पीडितलाई राहतका लागि व्यवस्था गर्न माग गरे ।
त्यस्तै, बैठकमा बोल्दै सांसद अमृता अग्रहरिले सरकारले मधेश र मधेशीप्रति विभेद गरेको भन्दै जनताबाट निर्वाचित भएका रेशम चौधरीलाई कुन ऐनका आधारमा प्रमाणपत्र नदिएको हो भनी प्रश्न गरेकी थिइन् ।
सांसद सरिता गिरीले धनुषा जिल्लाको ढल्केवरदेखि सुनसरीको इटहरीसम्म विद्युत् प्रसारण लाइन विस्तार गर्दा लहान नगरपालिकास्थित कडरिया गाउँमा अहिले विवाद उत्पन्न हुँदा काम अगाडि बढ्न नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराए । उनले विद्युत् पोल गाड्दा पहाडी भेगको छेउछाउबाट लैजानुपर्ने भन्ने व्यवस्था गर्न माग गरेका छन् ।