काठमाडौं– क्लासिक ग्यालरीले नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने पाँच महिला कलाकारलाई प्रस्तुत गरेको छ । स्थापनाको पाँच वर्ष यता नेपाली युवाकलाकार विशेषगरी महिला कलाकारलाई प्रोत्साहत गर्दै आएको ग्यालरीले आफ्नो निरन्तरतास्वरुप ५ समसामयिक युवा महिला कलाकारकारका ‘अन्तर्हृदयका आवाजहरु’ ‘सदनः द फाइभ पेटल्स’ प्रस्तुत गरेको हो ।
यसमा सबिता डंगोल, अनिशा महर्जन, दिपमाला महर्जन, अनामिका गौतम र नम्रता सिं सहभागी छन् । पा“चै कलाकारले आ–आफ्नो क्यानभासमा स्वतन्त्र विषयवस्तुमा आफ्ना भावनाहरु पोखेका छन् ।
उक्त प्रदर्शनी ‘सेमी–रेसिडेन्सी’को रुपमा अगाडी आएको छ ।
यस अर्थ कलाकारहरु सम्पूर्ण रुपमा ग्यालरीबाट निर्देशित तथा प्रयोजित नभई आ–आफ्नो स्टुडियो स्पेशमा काम गरी ग्यालरीमा प्रदर्शित गरिएको हो ।
प्रदर्शनीको परिकल्पना, आयोजना तथा व्यवस्थापन भने ग्यालरीले गरेको छ । कलाकारले कला सिर्जना गर्दै गरेको अवधिमा ग्यालरीले ‘स्टुडियो भिजिट’को कार्यक्रम ‘सेमी–रेसिडेन्सी’को मुख्य आकर्षण थियो ।
प्रत्येक कलाकारले स्टुडियोमा ग्यालरी प्रतिनिधिसँगै सहभागी कलाकारले छलफल र सुझावहरु आदान–प्रदान गर्ने गरे । यसले आफ्नो काम निखार्न निकै सहयोग मिलेको उनीहरुले महशुस गरेका थिए ।
कलाकार सबिताले प्रेमिल जोडीलाई आफ्नो चित्रकलाको मुख्य विषयवस्तु बनाएकी छन् । उनले आफ्नो मूल प्रतिक काईंयोलाई यथावत राखी अष्ठमण्गलका आकृतिलाई समावेश गरेकी छन् । बौध्द धर्मदर्शणले अष्ठमण्डललाई शुभमंगलको प्रतिकको रुपमा लिने गरेका छन् ।
यस्तै, अनिशा आफुले भोगेको र आफ्नो वरपर देखेको घटनाहरुका कारण उत्पन्न हुने विचारहरु तथा अनुभूतिहरुलाई चित्रमार्फत पोखेकी छन् । विशेषगरी पितृसत्ताको खोलमा मिल्काइएका माहिला अनुभावलाई उनी उजागर गर्छिन् ।
त्यसैगरी कलाकार दिपमालाले आफ्ना क्यानभासमार्फत पितृसत्ताले महिलाहरु अझ विशेषगरी विवाहित महिलालाई कति साँघुरो स्पेश दिएको छ र उनीहरु कसरी अप्ठेरो हुनेगरि बसेका छन् भन्ने उजागर गरेकी छन् ।
यस्तै, अर्की कलाकार अनामिका समाजमा भएका लैंगिकविभेद, सामाजिक संरचना तथा राजनैतिक समस्याप्रति आफ्नो विरोधपूर्ण विचार व्यक्त गरेकी छन् । उनी क्यानभासमा रंग भर्नु अगाडि नेपाली कागज टाँस्छिन्, यो उनको पृथक कला अभ्यास हो । त्यसैगरी कलाकार नम्रता भने बुध्दको ज्ञान, आध्यात्मिकपथ, निस्वार्थ प्रेमलाई आत्मसात गर्दै उनकै चित्रहरु कोरेकी छन् । एकै फुलका ५ फरक पत्रझैँ यी पाँच युवा कलाकार एकै मञ्चमा समसामयिक मानवजीवन तथा समाजका फरक–फरक आयामहरु लिएर प्रस्तुत भए ।