बैतडी । धौलीगङ्गा जलविद्युतको बाँध खोलिएको छ।
भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा अवस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिदाँ स्थानीयलाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ।
सोमबारदेखि बाँधमा पानीको मात्रा बढेको र नियमित सरसफाइ गर्नुपर्ने भन्दै परियोजनाले बाँध खुला गरिएको जानकारी पाइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताए।
उनले भने, परियोजनाका दुई वटा ढोका खोलेर २९४ क्युसेक पानी छाडिएको खबर छ। एउटा ढोकाबाट १४२ क्युसेक र अर्को ढोकाबाट ५२ क्युसेक पानी छोडिएको जानकारीमा आएको छ।
यसअघि आइतबार नै भारतीय
पक्षले आज बिहान ९ बजेसम्मका लागि बाँध खोलिने पूर्वजानकारी नेपाली प्रशासनलाई गराएको थियो। बाँधको पानी खोलिँदा महाकाली नदीको बहाव घटबढ भइरहेको बताइएको छ।
दार्चुलाको दत्तुमा बिहान १० बजे मापन गरिएअनुसार महाकाली नदीको सतह ४.६ मिटर क्युसेक रहेकामा अपराह्न १ बज घटेर ३.६ मिटर क्युसेक पुगेको प्रजिअ आचार्यले बताए।
दार्चुलाबाट बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्नसक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्न नेपाल र भारतका स्थानीय प्रशासनले आग्रह गरेका छन्।