बिहिबार, साउन २६, २०७९ | Thursday 11th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • फिचर न्युज 1
  • गणतन्त्र स्मारक अन्तिम चरणमा, स्तम्भ अन्योलमा
फिचर न्युज 1

गणतन्त्र स्मारक अन्तिम चरणमा, स्तम्भ अन्योलमा

  • सिधा दृष्टी सोमवार, जेष्ठ १४, २०७५ | May 28, 2018

पूर्णप्रसाद मिश्र
काठमाडौं । सात वर्षअघि निर्माण सुरु भएको गणतन्त्र स्मारक अन्तिम चरणमा पुगेको छ भने गणतन्त्र स्तम्भ भने अझै अन्योलमा छ ।
सहरी विकास तथा भवन निर्माण विभागले सो स्मारक निर्माण गरेको हो । स्मारक सन्चालन कसले कसरी गर्ने भन्ने सम्बन्धमा कार्यविधि मस्यौदा भइरहेको विभागका उपमहानिर्देशक मणिराम गेलालले राससलाई बताए ।
लोकतान्त्रिक गणतन्त्रको प्रतीककारुपमा निर्माण भएको स्मारकमा चारओटा खम्बा छन् ।
राणा शासनको अन्त्यदेखि हालसम्म स्वतन्त्रता प्राप्तिका लागि भएका आन्दोलनकाक्रममा ज्यान गुमाएका, हराएका, बेपत्ता पारिएका

र अंगभंग भएका ज्यूँदा सहिदका नाममा सम्झनास्वरुप खम्बा निर्माण गरिएको हो ।
नारायणहिटी दरबार संग्रहालयले उपलब्ध गराएको ३५ रोपनी क्षेत्रफलमा स्मारकका संरचना निर्माण गरिएको विभागका वरिष्ठ डिभिजनल इन्जिनियर मचाकाजी महर्जनले जानकारी दिए । स्मारकको मूल संरचना भने दुई रोपनी क्षेत्रफलमा फैलिएको छ ।
‘जनआन्दोलनका सहिदसम्बन्धी चिजबिज प्रदर्शनी गर्न स्मारकमा ग्यालरी पनि निर्माण गरिएको छ, स्मारक अन्डाकार संरचनाको छ, जहाँबाट रातो प्रकाश निस्कनेछ । अन्डाकारको तल नेपालको नक्साको आकार हुनेछ’–वरिष्ठ डिभिजनल इन्जिनियर महर्जनले भने ।
स्मारकमा ‘सहिदको रगत खेर जाने छैन, नेपालकै लागि सदुपयोग हुनेछ’ मूल भाव आउने वाक्यसमेत राख्ने तयारी गरिएको छ ।
स्मारकमा बहुउद्देश्यीय हल, विशिष्ट कक्ष, चमेनागृह, शौचालयलगायतका संरचनासमेत निर्माण भएको छ ।
यसअघि, नारायणहिटी दरबार क्षेत्रमा रहेको टुकुचा नदीको चौडाइ विस्तार गरिएको छ । यसले टुकुचामा आउने ठूलो बाढी पनि थेग्ने उनले बताए ,
नारायणहिटी दरबार संग्रहालयको पूर्वपट्टि नागपोखरीमा अवस्थित स्मारकमा नेपालमा प्रजातन्त्र प्राप्तिका लागि जनताले निर्वाह गरेको भूमिकाका विभिन्न तस्वीर र कलाकृतिलगायतका सामग्री राखिनेछन् ।
स्मारकको भावनात्मक सम्बन्ध हरेक नेपालीसँग जोडिएकाले लोकतन्त्र प्राप्तिका लागि सहिदको बलिदानीलाई जीवन्त राख्न मद्दत गर्ने विश्वास लिइएको छ ।
यस्ता कलाकृतिले जनतामा प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र ल्याउन कति साहस, त्याग र बलिदानीको आवश्यकता पर्‍यो भन्ने देखाउँछ ।
हिमाल, पहाड र तराईको भौगोलिक अवस्था झल्किने कलाकृति पनि स्मारकको ग्यालरीमा राखिनेछ ।
नेपालको तीनओटै भौगोलिक अवस्था चिनाउने आकृतिबाट रातो किरण निस्किनेछ । कलाकृतिका माध्यमबाट हिमाली क्षेत्रका मनमोहक हिमाल, पहाडका डाँडाकाँडा र तराईको समथर भू–भाग ग्यालरीमा राखिनेछ । त्यसबाट उत्पन्न हुने रातो प्रकाशले सहिदका चार स्मारकलाई उज्यालो बनाउँछ ।
‘किरणका माध्यमबाट सहिद, बेपत्ता र अंगभंग पारिएकालाई राष्ट्रले सम्झिरहेको छ भन्ने प्रतिकात्मक अर्थ दिनेछ’–उनले भने ।
वि.सं. २०६८ चैत १४ गते तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्मारक शिलान्यास गरेका थिए ।
तीन वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता गरिएकामा भूकम्प र नाकाबन्दीका कारण चार वर्ष ढिला भएको विभागले जानकारी दियो ।(रासस)

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय