काठमाडाै । प्रहरी मेषमा तोकिएको दर भन्दा खाना बापतको शुल्क बढी लिएको, पारिश्रमिकमा विभेद गरेको भन्दै दोलखामा कार्यरत ७ सय ५५ म्यादी प्रहरी आन्दोलित भएका छन् । निर्वाचन सुरक्षाका लागि नियुक्त गरिएको भएपनि आफुहरुलाई मजदुर सरह काम लगाइएको र मेषमा खुवाइने खानाको दर रेटमा बिभेद गरिएको भन्दै आन्दोलनमा उत्रन बाद्य हुनु परेको म्यादी प्रहरीले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय परिसर चरिकोटमा आन्दोलन गरिरहेका म्यादीमाथि प्रहरीले लाठी चार्ज समेत गरेको थियो । प्रहरीले लाठीचार्ज गरेपछि प्रतिकारमा उत्रिएका म्यादी र
प्रहरीबिच झडप समेत भएको थियो । झडपमा म्यादी प्रहरी संगीता नेपालीसहित सातजना घाइते भएका छन् । घाइते नेपालीलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।आन्दोलनरत म्यादी प्रहरीले कार्यालयले आफूहरुको पारिश्रमिकबाट खाना खर्चको नाममा मनलाग्दी पैसा काटेको आरोप लगाएका छन् । उनिहरुले उल्लेखित रकम उपलब्ध नगराए झनै कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
दोलखा प्रहरीको मेसमा खाना वापत प्रहरी जवानहरुबाट प्रतिछाक ६० रुपैयाँ काटेको जिप्रकाले म्यादीबाट भने ९५ रुपैयाँ प्रतिछाक पैसा काटिदिएको गुनासो उनीहरुले गरेका छन् ।
यता जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले सामान्य कुरालाई म्यादी प्रहरीले अनाबश्यक महत्व दिएर आन्दोलन गरेको बताए । उनका अनुसार वार्ता र संवादबाट म्यादी प्रहरीका माग पुरा गर्न आफु सक्रिय रहेको प्रतिक्रिया दिए । उनले यो विषय तुरुन्तै टुंगिने बताएका छन् ।