काठमाडौँ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना सकिएको छ । मतगणना सकिए पनि सिट बाँडफाँटका लागि भने अझै केही दिन लाग्ने निर्वाचन आयोगले जानकारी दिएको छ । जिल्लाबाट निर्वाचन क्षेत्रगत रुपमा अन्तिम परिणाम आएपछि मात्र आयोगले दलले पाउने सिटको बाँडफाँट गर्ने जानकारी दिएको छ ।
आयोगले आइतबार सार्वजनिक गरेको प्रारम्भिक मत अनुसार नेकपा एमाले समानुपातिकतर्फ पनि पहिलो दल बनेको छ । नेकपा (एमाले) ले दोस्रोमा रहेको नेपाली काँग्रेसभन्दा ४६ हजार १०५ मत बढी पाएको छ
।
समानुपातिकतर्फको अन्तिम मतगणना अनुसार यस पटक राष्ट्रिय दलको मान्यता पाउने दलको सङ्ख्या पाँच मात्र हुने भएको छ । आयोगले औपचारिक रुपमा मतपरिणाम सार्वजनिक नगरे पनि सदर मतको तीन प्रतिशतको हिसाबले पाँच दलले मात्र राजनीतिक दल सम्बन्धी ऐनले ताकेको थ्रेसहोल्डको तीन प्रतिशत कटाएका छन् ।
आयोगले सार्वजनिक गरेको प्रारम्भिक सदर मत ९५ लाख ४४ हजार ७४४ रहेको छ । जसअनुसार थ्रेसहोल्ड तीन प्रतिशत कटाउन दुई लाख ८६ हजार ३४२ मत आवश्यक पर्नेछ । तीन प्रतिशत नकटाउने दलको मत गणना समानुपातिकतर्फ सिट बाँडफाँटका लागि गणना हुँदैन ।
निर्वाचन आयोगको समानुपातिक निर्वाचन एकाइ प्रमुख सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिनाले औपचारिक निर्वाचन परिणाम प्राप्त भइ नसकेकाले सिट बाँडफाँटमा केही दिन लाग्ने बताउनुभयो । तिम्सिनाले भन्नुभयो ‘हामीले सबै क्षेत्रबाट औपचारिक परिणाम मगाइ रहेका छौँ । सबै मतपरिणाम आएपछि रुजु गर्छौँ त्यसपछि कसले कति सिट पाउने हामी हिसाब निकाल्छौँ ।’
राष्ट्रिय दलको थ्रेसहोल्ड कटाउने दलमा एमाले, काँग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी नेपाल र सङ्घीय समाजवादी फोरम छन् । पहिलो पटक प्रतिनिधि सभा निर्वाचन लडेको विवेकशील साझा पार्टीले छैंठौं धेरै मत पाएको छ । दोस्रो संविधान सभामा समानुपातिक मतबाटै चौथो ठुलो दल बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रप्रपा)ले यस पटक राष्ट्रिय दलका लागि आवश्यक मतसमेत पाउन सकेन । राप्रपा सातौं स्थानमा सीमित भएको छ ।
समानुपातिकतर्फ पहिलो भएको एमालेको ३१ लाख ७४ हजार ४९४ मत छ । दोस्रोमा रहेको कँंग्रेसले ३१ लाख २८ हजार ३८९ मत पाएको छ । तेस्रोमा रहेको माओवादी केन्द्रको पहिलो र दोस्रो दलभन्दा आधा कम मत छ ।
माओवादीको १३ लाख तीन हजार ७२१ मत छ । चौथो स्थानमा रहेको राजपाले चार लाख ७२ हजार २५४ मत पाएको छ । पाँचौँमा रहेको सङ्घीय समाजवादी फोरमको चार लाख ७० हजार २०१ मत छ । ११ दलले एक हजार मत पनि कटाउन नसकेको निर्वाचन आयोगको तथ्याङ्क छ ।
कसको कति सिट
आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनको अनुसूचीमा उल्लेख भए अनुसार मत परिणाम विभाजक सूत्रबाट अब सिट बाँडफाँट गर्नेछ । औपचारिक रुपमा आयोगले सिट बाँडफाँटका लागि भने कम्तीमा अझै एक साता लाग्न सक्ने आयोगले जनाएको छ ।
तर, उक्त सूत्र अनुसार एमालेले सबैभन्दा बढी सिट पाउने छ । मत परिणाम विभाजक सूत्र अनुसार प्रत्येक दलका लागि खसेको मतलाई भाग गर्ने पद्धतिले श्रृङ्खलावद्ध रुपमा भाग गरिने छ । यस अनुसार प्रत्येक दलले प्राप्त गरेको मत परिणामलाई धेरै भाजकहरुले भाग गरिन्छ । सिट सङ्ख्या नसकिँदासम्म बाँडफाँट गरिन्छ ।
मत परिणाम विभाजन सूत्र अनुसार हाल आयोगले सार्वजनिक गरेको मत अनुसार एमालेले सबैभन्दा बढी ४१ सिट पाउने देखिन्छ । यस्तै, काँग्रेसले ४०, माओवादी केन्द्रले १७, राजपा तथा सङ्घीय समाजवादी फोरमले ६÷६ सिट पाउने देखिएको छ ।
दस लाख मत बदर
निर्वाचन आयोगले पहिलो र दोस्रो चरणमा कुल एक करोड पाँच लाख ८७ हजार ५२१ मत खसेको जानकारी दिएको थियो । समानुपातिकतर्फ भने आयोगले आइतवार सार्वजनिक गरेको विवरण अनुसार ९५ लाख ७४ हजार ७४४ मत सदर भएको छ । आयोगले समानुपातिकको कुल मत छुट्टै सार्वजनिक गरेको छैन । तर, सार्वजनिक भएको कुल मत अनुसार भने १० लाख ४२ हजार ७७७ मत बदर भएको छ ।
४४ दलको जमानत जफत
प्रतिनिधि सभाको समानुपातिकतर्फ निर्वाचनमा भाग लिएका ४९ मध्ये ४४ दलको धरौटी जफत हुने देखिएको छ । तोकिएको थ्रेसहोल्ड कटाउन नसक्ने दलको धरौटी जफत हुने कानुनी व्यवस्थाका कारण ती दलको धरौटी जफत हुने भएको हो । सदर मतको कम्तीमा तीन प्रतिशत मत नल्याउने दलको जमानत जफत हुनेछ ।
दलहरुले चुनावी प्रतिस्पर्धाका क्रममा ५० हजार रुपियाँ धरौटी बापत राखेका हुन्छन् । धरौटी जफत हुने दलमा विवेकशील साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), नयाँ शक्ति, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, नेकपा माले लगायतका दलहरु छन् । @gorkhapatraonline.com