मतपेटिका “विशेष सुरक्षा निगरानीमा” राखिने
काठमाडाैं । आइतवार मतदान सम्पन्न भएका ३२ जिल्लाका झण्डै तीन हजार मतदान स्थलमध्ये २ हजार ५७ स्थलका मतपेटिका जिल्ला सदरमुकाम पुर्याइएको निर्वाचन आयोगले जनाएको छ।
आयोगको जानकारी अनुसार सदरमुकाममा ल्याउन बाँकी मतपेटिकामध्ये १ सय २९ मतदान स्थलका मतपेटिका हेलिकोप्टरबाट पुर्याउने तयारी भइरहेको छ।
यसैगरी ७ सय ४१ मतदान स्थलका मतपेटिकाहरु पैदल मार्गबाट जिल्ला सदरमुकाम ल्याउने क्रम जारी रहेको आयोगले बताएको छ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि आइतवार
पहिलो चरणको मतदान भएको थियो।
कहाँ कति?
चुनावमा ६५ प्रतिशत मतदान भएको प्रारम्भिक विवरण प्राप्त भएको आयोगले जनाएको छ।
आयोगका अनुसार सबैभन्दा बढी रसुवामा ८०.७९ प्रतिशत मतदान भएको छ भने मनाङमा ७३.७६ प्रतिशत, मुस्ताङमा ७१.८५ प्रतिशत, ताप्लेजुङमा ६६.१६ प्रतिशत र पाँचथरमा ६२.२४ प्रतिशत मतदान भएको छ।
संखुवासभामा ६५.८२ प्रतिशत, भोजपुरमा ५८.२१, सोलुखुम्बुमा ५९.६२ प्रतिशत, खोटाङमा ५६.९१ प्रतिशत, ओखलढुंगामा ६४.५८ प्रतिशत, दोलखामा ५९.३७ प्रतिशत मत खसेको आयोगले जनाएको छ।
त्यसैगरी रामेछापमा ५८.७२ प्रतिशत, धादिङमा ६७.१२ प्रतिशत, नुवाकोटमा ६८.९० प्रतिशत, सिन्धुपाल्चोकमा ६८.८७ प्रतिशत, गोरखामा ६५.६९ प्रतिशत र लम्जुङमा ६६.९८ प्रतिशत मत खसेको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
पुन: निर्वाचन
आइतवार निर्धारित ४ हजार ४ सय ६५ मतदान केन्द्रमध्ये दुई वटा मतदान केन्द्रमा मात्र पुन: निर्वाचन गरिनुपर्ने भएको आयोगले बताएको छ।
आयोगले दोस्रो चरणको चुनाव नहुञ्जेल मतपेटिकाहरुलाई 'विशेष सुरक्षा निगरानीमा' राखिने बताएको छ।
आयोगका प्रवक्ता नवराज ढकालले मतपेटिकाको निगरानीमा दलका प्रतिनिधिहरु बस्न चाहे उनीहरुका लागि पनि आवश्यक व्यवस्था मिलाइएको बीबीसीलाई बताए।
४५ जिल्लामा मंसिर २१ गते दोस्रो चरणको चुनाव सकिएपछि एकसाथ मतगणना गरिनेछ।@BBC