धनगढी । प्रदेश नम्बर ७ को एक मात्र उपमहानगरपालिका धनगढीमा नेपाली काँग्रेसकाे जित भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज बिहान सार्वजनिक गरेको अन्तिम परिणामानुसार उपमहानगरपालिका प्रमुखमा काँग्रेसका उम्मेदवार नृपबहादुर वड प्रमुख (मेयर) करिब २८ सय मतान्तरले विजयी भएका छन् ।
त्यस्तै, उपप्रमुख (उपमेयर) पनि नेपाली काँग्रेसकै उम्मेदवार सुशीला मिश्र भट्ट करिब ४८ सय मतान्तरले विजयी भएका छन् ।
निर्वाचित मेयर वडले १४ हजार तीन सय २४ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार गोपाल
हमालले ११ हजार ५ सय २७ मत प्राप्त गरे ।
त्यस्तै, माओवादी केन्द्रका रामसमझ रानाले १० हजार २ सय ९ र एमालेका दुर्गाप्रसाद जोशीले नौ हजार ९ सय ४६ मत प्राप्त गरे ।
उपमेयरमा निर्वाचित मिश्रले १७ हजार ४ सय ८ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रुकमिणी देवकोटाले १२ हजार ७ सय ६३ र माओवादी केन्द्रका शान्ति अधिकारी क्षेत्रीले १० हजार २ सय ५२ मत प्राप्त गरिन् ।
उपमहानगरपालिकाका १९ वडा मध्ये १२ वडामा काँग्रेसले जीत हात पारेको छ । त्यस्तै, ५ वडामा माओवादी केन्द्र र २ मा एमाले विजयी भएको छ । छयहत्तर हजार ४३० मतदाता रहेको उपमहानगरमा ५४ हजार ६५६ मत खसेको थियो । खसेको मतमा प्रमुखमा तीन हजार ९८३ र उपप्रमुखमा दुई हजार ६८९ मत बदर भएका छन् ।