बिहिबार, चैत्र १६, २०७९ | Thursday 30th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • भू–स्वर्गको अानन्द खप्तड मेला
मुख्य खबर

भू–स्वर्गको अानन्द खप्तड मेला

  • सिधा दृष्टी आइतवार, जेष्ठ २१, २०७४ | June 4, 2017

भूमिराज जोशी
सुदूरपहाडका चार जिल्लाहरु बाजुरा, बझाङ्ग, अछाम र डोटीको केन्द्र बिन्दुमा पर्ने खप्तड क्षेत्र ‘भू–स्वर्ग’ को उपमाले चिनिन्छ । नेपालकै बिभिन्न पर्यटकीय क्षेत्रहरुमध्येको एक खप्तड पनि हो । जसमा सयौं बिदेशी तथा हजारौं नेपाली पर्यटकहरुले पत्यक्ष अवलोकन गरी भू–स्वर्गको ब्याख्या गरिसकेका छन ।
पौराणिक कालमा सिद्घ तथा ऋषिमुनीहरुले तपस्या गरेको यस क्षेत्र ‘खेचरादी’ पर्वतका रुपमा समेत वर्णन गरिएको छ । धार्मिक पर्यटनको ठूलो सम्भावना रहेकाले खप्तड क्षेत्रमा कौरव र पाण्डवको युद्घ हुँदा पाण्डवहरुले चौध वर्ष वनबास बस्दा

केही समय खप्तडमा बिताएको किम्वदन्ती रहेको छ ।
‘भू–स्वर्ग’ शब्द झट्ट सुन्दा स्वर्ग नै हो की भनेर सबैको मनमा कौतुहलता जाग्छ । हुन पनि यथार्थ हो, धर्तिको सबैभन्दा आनन्द महशुस हुने ठाउँ नै खप्तड हो । प्रकृतिको अनुपम उपहार हो खप्तड । आँखाले नभ्याउने विशाल फाँटहरु, हिउँदमा सेताम्मे र बसन्त ऋतुमा रंगीविरंगी फूलले छपक्कै छोपेका मैदानहरु, अझ भनौं स्वर्गबाट नै एक टुक्रा खसेर जस्तो । हिउँदको बेला बाक्लो हिउँमा पहिलो पटक टेक्दा त धर्तीको स्वर्गमा पुगे झैं अनुभूति हुन्छ ।
२२ पाटन र ५२ झोती भनेर पनि चिनिने खप्तडमा खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्पर दह, शिव मन्दिर, सहस्रलिंग, गणेशस्थान, नागढुंगा, माइका थान, छिन्तेढुंगा, केदारढुंगा, डाँफेकोट, सीता पाइला, घोडादाउन पाटन, नाचन्थली, बलेमेला, पाटन जेठी बहुरानी ढुंगा, भलाउने पाटन, जस्ता धार्मिक स्थलहरुले खप्तड क्षेत्रलाई विशिष्ट बनाएका छन् । यी क्षेत्र तथा स्थानहरुको आ आफ्नै महत्व छ । जसले आम जनमानसलाई लोभ्याइराख्छन । सबै ठाउँहरु फरक फरक ठाउँमा छन । एकठाउँबाट अर्को ठाउँ जान करिब १÷२ घण्टा समय लाग्ने गर्छ । खप्तडमा २२ वटा पाटन, २५ मैदान र ५२ वटा थुम्काहरु । जसलाई स्थानीय भाषामा झोती भनिन्छ । किम्वदन्ती अनुसार दोस्रो नम्बरका पाण्डव भीमले हलो जोत्दा फालीले फ्याँकेको माटोबाट यी थुम्का बनेका हुन् । भन्ने बुझाइ रहेको छ ।
‘गंगा दशहरा मेलामा जाऔं, खप्तडका सुन्दर फाँटहरु घुमौँ, त्रिबेणीमा स्नान गरौँ ।’ भन्ने मुल नारा लिइ यस बर्ष पनि दशहरा मेला लाग्ने भएको छ । अबका केहीदिन पछि हुन लागेको यसै जेठ १९ देखि २२ गतेसम्म लाग्ने मेलामा सबै सरोकालबाला निकायहरुले आ आफ्नो भूमिका निर्बाह गर्दैछन । खप्तड एउटा धार्मिक तथा सौन्दर्यको केन्द्रबिन्दु हुँदा हुँदै जाँडरक्सी तथा माछामासुको परिकार बिक्री गर्नुहुदैन भन्ने धार्मिक मान्यता भएपनि बिगतका दिनहरुमा बिकृति नै छ्याप्छ्याप्ती भएको सबैलाई अबगत नै छ । अब आउँदो दिनमा यसको सुधार होस ।
तीर्थयात्रीहरुले पनि खप्तडमा दादागिरी गर्न, जाँडरक्सी खान, अरुलाई तनाब दिनका लागि होइन । स्वतन्त्र सभ्य समाजको परिचय दिन त्यस्तै ब्यवहार गर्न र धार्मिक आस्थाका साथ सफल र सहज बाताबरण निर्माण गर्ने उद्देश्यले गयो भने पक्कै पनि देशी तथा बिदेशी पर्यटकहरुलाई लोभ्याउन सकिन्छ । साथै वास्तबिक खप्तड भनेर चिनाउन सकिन्छ । एक पटक मेलामा जानेले दोश्रोपटक पनि जावस की दोश्रो पटक वाक्क भइ नजाने इच्छा नहोस ।
गंगादशहरा मेलाका दिन त्रिबेणीमा नुहाँउदा पाप पखालिने, पित्रृलाई तर्पण दिदा पित्रृले मुक्ति पाउने र स्वर्ग जाने, मनको ईच्छा पुरा हुने गाढा बिश्वास रहेकोले यो मेला बढी आकर्षण बनेको बुझिन्छ ।
प्रत्येक बर्षको एक पटक खप्तडमा गंगा दशहरा मेला र इन्द्रजात्रा मेला लाग्ने गर्छ । जेठ÷असार महिनामा गंगा दशहरा र साउन÷भदौमा खापरदहमा ठूलो इन्द्रजात्रा मेला लाग्ने गर्छ । सदियौँदेखि खप्तडमा गंगा दशहरामा हजारौँ तीर्थयात्री भेला हुन्छन् । त्रिवेणी नदीमा स्नान गर्नुका साथै सुदूरपश्चिमकै प्रसिद्ध हुड्के नाच हेर्न स्थानीयवासी जम्मा हुने गर्छन् । सुदूरपहाडको देउडाले रातभर मेला नै गुञ्जायमान हुन्छ । चार जिल्लाको बिचमा अवस्थित खप्तड क्षेत्रका मेलाहरुमा हजारौं तीर्थयात्रीहरु आउने गर्छन ।
सुदूरपहाडका चारवटा जिल्लाहरु बाहेका सुदूरपश्चिम लगायत नेपालकै खप्तडको महत्व बुझेकाहरु तीथालु भएर आउँछन । बि.स २०४२ सालमा राष्ट्रिय निकुञ्ज स्थापना भएदेखि प्रचारप्रसारका साथ खप्तडले जनमानस तान्ने गरेको छ । समुद्र सतहबाट २४ सयदेखि ३७ सय मिटर उचाई र दुईसय २५ बर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । खप्तड क्षेत्रमा ५० वर्ष पहिले खप्तडबाबाले तपस्या गरेको पवित्र ठाउँ पनि हो । खप्तड बाबाको आगमन पछि राजा बिरेन्द्रलाई आग्रह गर्दा २०४२ सालमा राष्ट्रिय निकुन्ज भएको जानकारहरु बताउँछन ।
२ सय भन्दा बढी प्रजातिका फूल, बहुमुल्य जडिबुटीका साथै कस्तुरी, मृग, बदेल, डाँफे जस्ता जंगली जनावरहरुको सुरक्षाका लागि २०४७ सालमा नेपाली सेनाको ब्यारेक स्थापना गरिएको बताइन्छ ।
वि.सं २००२ साल बझाङ्गी राजा रामजगं सिहंको अगुवाइमा भू स्वर्गकाका जंगलमा तपस्या गरेको र त्यसपछि खप्तडलाई देवभूमीका रुपमा रहको बताउदै देश विदेशमा यसको महत्व र धार्मिक पर्यटनको महत्वबारे प्रचार÷प्रसार गरेपछि यस ठाँउको महिमा र सुनदरताले व्यापक चर्चा पायो ।
सुदूर पश्चिमाञ्चल विकास क्षेत्रका चार जिल्लाको संगमस्थलमा अवस्थित यस राष्ट्रिय निकुञ्जले मध्य पहाडी वातावरण, वनस्पति र वन्यजन्तुहरूको प्रतिनिधित्व गदर्छ । यस निकुन्जमा सल्ला, खसुर र निगालाका जगंलहरूका साथै वन्यजन्तुका लागि उपयुक्त घाँसे मैदान रहेका छन् । यहाँ पाइने वन्यजन्तु तथा सुन्दर चराचुरुङ्गीहरूको प्रधानता रहेको छ । खप्तडबाट सबैभन्दा नजिक रहेको सहर बझाङ्गलाई मानिन्छ ।
खप्तड जान सबैभन्दा नजिक पनि बझाङ्ग जिल्ला नै पर्छ । बझाङ्ग जिल्लाको खप्तड छान्ना गाउँपालिकाको दारुगाउँ मेल्तडी हुदै लोखाडा चेकपोष्टबाट करिब २ घण्टामा खप्तड पुगिन्छ । त्यस्तै अरु पाटादेवल, लामातोला, पौवागढी,थलारा क्षेत्रहरुबाट स्थानीयलाई सहज हुन्छ । त्यस्तै बाजुराको काँडा, अछामको खप्तड लगायतका अरु गाउँहरु र त्यस्तै डोटीको सायल, झिग्राना, काँडामाण्डौकाबाट स्थानीयहरुलाई खप्तड जान आउन सजिलो पर्छ ।
केन्द्रबाट जाने हो भने पनि सबैभन्दा नजिक पर्ने ठाउँ पनि बझाङ्गको मेल्तडी नै पर्न सक्छ । किनकी मेल्तडीसम्म नै गाडी जान्छ । त्यहाँबाट खप्तड जान जम्मा तीन घण्टा मात्र समय लाग्छ । त्यस्तै बाजुराबाट पनि सडकबाट करिब सात आठ घण्टा बराबर लाग्छ । त्यस्तै अछामबाट खप्तड जाने हो भने पनि सबारीसाधन पुग्ने ठाउँबाट करिब चारपाँच घण्टा समय लाग्छ भने डोटीबाट खप्तड जाने हो भने मुल प्रबेशद्धार झिग्रानाबाट सात घण्टामा पुगिन्छ ।
यसरी भत्तजन तथा तीर्थालुहरुले जुनबाटो सजिलो लाग्छ त्यो बाटो मै जाँदा आफूलाई नै रमाइलो हुन्छ । प्राय सबै जिल्लाबाट खप्तड जाँदा पनि सरल बाटो छ । साथै रमाइलो पनि छ । ०४३ देखि ०६४ सम्ममा मात्रै खप्तड पुग्ने विदेशी पर्यटकको सङ्ख्या २५२ थियो । त्यसपछि दिनानुदिन खप्तड जाने पर्यटकको संख्या बढ्दै गएको छ ।
खप्तड जाँदा पाल, स्लिपिङ व्याग, सकिन्छ भने बेड बिस्तारा लगायतका सामानहरु आफैंले लगेमा धेरै फाइदा हुन्छ । किनकी खप्तडमा पानी प¥यो भने सहनै नस्ने जाडो हुन्छ । त्यसैले खानाकुराहरु चाउचाउ लगायतका ड्राइफुडहरु बोकेर जाँदा बेस हुन्छ भने साथै खप्तडका मुल समस्याहरु भोक र चिसो नै हो । अरु आँखाले भ्याइनभ्याइ हेर्नसकिने ठाउँले जीबनभर भोगेको भोगाइ पनि बिर्सन सक्ने ठाउँ नै खप्तड हो ।
पछिल्लो समयमा लाखौं पर्यटक भित्र्याउनु पर्नेमा राजनीति खिचातानीले गर्दा बिकास हुनु भन्दा बिनास भइरहेको छ । आएको अरबौं बजेट पार्टीका नेता तथा कार्यकर्ता पाल्नमै बराबर भएको छ । खप्तडमा बन्नेका भवनहरु करोड भन्दा कम बजेटका छैनन तर त्यसमा ५० प्रतिशत बजेट पनि सदुपयोग भएको छैन । दुरुपयोग मात्र छ ।
सुदुरको सुन्दर खप्तड बिकास गर्नका लागि जो सरकारमा जान्छ, खप्तडको बजेटमा उसैको कार्यकर्ताले भागबन्डा गरेर खान्छन । हालसम्म आएको बजेटले लाखौं बिदेशी तथा स्वदेशी पर्यटक भित्र्याउनु पथ्र्यो तर अहिलेसम्म हजारौं पर्यटक आउन सकेका छैनन । खान, बस्न, घुमाउनका लागि आउने बार्षिक बजेट सधै दुरुपयोग हुँदै आएको छ । एकपटक आएको पर्यटक दाश्रोपटक आउन मान्दैन । यसरी पर्यटकहरु पनि टाढिदै गएका छन ।
पछिल्लो दुई वर्षयता खप्तडमा आन्तरिक पर्यटनको आगमनमा पनि खासै केही सुधार भएको देखिदैन । भौतिक पूर्वाधारका कारण हुने असुविधाले भने पर्यटकलाई सास्ती पनि हुने गरेको छ । खप्तड घुम्न जाने पर्यटकका लागि नजिकका गाउँमा स्तरीय होमस्टे संचालन गर्न सकेमा केही हदसम्म सुबिधा हुन सक्थ्यो । एक करोडको भवन भित्र सुत्नलाई खटिया हुदैन । खानेपानी तथा चर्पीको ब्यवस्था हुदैन । यसरी खप्तडमा भएको भ्रष्टाचार मौलाउनाले पर्यटकहरु पनि खप्तडबाट टाढिन पुग्छन । यतातिर सम्बन्धित सबै सरोकारवाला विकायहरुको ध्यान जान जरुरी छ ।
करिब एक हप्ता खप्तडमा बस्ने हो भने त्यहाँ भएको सबै मनोरम दृश्यहरु अनुभब गर्न पाइन्छ । खप्तड चिसो क्षेत्र भएकाले स्लिपिङ ब्याग, न्यानो ज्याकेट, रेनकोट, उनीको बाक्लो टोपी, बाक्लो मोजालगायतका न्यानो हुने कपडाहरू लैजानु जरुरी हुन्छ । त्यस्तै बडी लोसन, खोकी र टाउको दुखेको औषधि, हेन्डप्लास्ट बोकेर जानु पर्छ । स्थानीयहरु भनछन, ‘यो खप्तड क्षेत्र जडिबुटीको भन्डार हो र यहाँबाट चल्ने हावा औषधीयुक्त हुन्छ’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय