काठमाडौं । सरकारले निजी क्षेत्रको नेतृत्वमा औद्योगिक क्षेत्रको विकास गर्ने रणनीति तयार पारेको छ ।
उद्योग मन्त्री नविन्द्रराज जोशीले निजी क्षेत्रको नेतृत्वमा औद्योगिक विकास समिति गठन गरी औद्योगिक क्षेत्रको विकास गर्ने रणनीति तयार पारिएको जानकारी दिए ।
उनले औद्योगिक विकास समितिमा सरकार, निजी क्षेत्र, गैरआवासीय नेपाली संघ, उद्योगी व्यवसायी र सर्वसाधारणको समेत प्रतिनिधित्व हुनेगरी कानुनी व्यवस्था गर्न लागिएको पनि स्पष्ट पारे ।
हदरबारस्थित आफ्नै कार्यकक्षमा संचारकर्मीसँग कुरा गर्दै मन्त्री जोशीले औद्योगिक क्षेत्रको विकासका लागि आवश्यक लगानीको वातावरण
तयार पार्ने अधिकारसमेत समितिलाई हुने व्यवस्था गर्ने पनि उल्लेख गरे ।
उद्योग मन्त्रालयले औद्योगिक क्षेत्रको विकासका लागि सरकारको ४ प्रतिशत मात्रै लगानी हुने कार्ययोजना पनि उनले अघि सारे । बाँकी ९६ प्रतिशत लगानी निजी क्षेत्रको हुने मन्त्री जोशीको भनाई छ । औद्योगिक क्षेत्रको विकास गरी मुलुकमा रोजगारीको अवसर सृजना गर्न निजी क्षेत्रमैत्री संस्थागत र नीतिगत निर्णय लिन लागिएको उद्योग मन्त्रालयले जनाएको छ ।
मन्त्री जोशीले १० वर्ष भित्र मुलुक भित्रै रोजगारीको अवसर सृजना गर्न औद्योगिक क्षेत्रको विकास गर्नुको विकल्प नरहेको पनि दोहोर्याए । बाह्रखरी