बिहिबार, जेष्ठ १८, २०८० | Thursday 1st June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • आर्थिक
  • तयारी भएका पोसाकले बजार गुमाउँदै
आर्थिक

तयारी भएका पोसाकले बजार गुमाउँदै

  • सिधा दृष्टी सोमवार, जेष्ठ ८, २०७४ | May 22, 2017

काठमाडौँ, जेठ ८ गते ।  अत्यधिक निर्यात सम्भावना बोकेको तयारी पोसाकको निर्यात पछिल्लो समय झन् घट्दो क्रममा छ । सरकारले निर्यातजन्य वस्तुलाई प्राथमिकतामा राखेको र अमेरिकाले पनि यसको निर्यातमा नेपाललाई भन्सार छुटको सुविधा दिएको अवस्थामा पनि तयारी पोसाकको निर्यात आशलाग्दो गतिले बढ्नुको सट्टा झन् घट्न थालेको हो ।
अन्तर्राष्ट्रिय बजारमा मूल्यका हिसाबले प्रतिस्पर्धा गर्न नसकेपछि नेपाली उत्पादनले सम्भावित बजार पनि गुमाउँदै गएको उत्पादकको भनाइ छ ।  ‘हाम्रो तयारी पोसाक अरू देशको भन्दा निकै महँगो हुँदा पनि बजार घट्दै गएको

हो’ नेपाल तयारी पोसाक उत्पादक सङ्घका अध्यक्ष चण्डीप्रसाद अर्यालले भन्नुभयो ।  उहाँका अनुसार नेपालबाट निर्यात हुने तयारी पोसाक अन्तर्राष्ट्रिय बजारमा १८ प्रतिशतसम्म महँगो पर्छ ।
निर्यातमा न्यून नगद प्रोत्साहन, जनशक्तिको अभाव तथा अन्य प्रक्रियागत झण्झटका कारण लागत बढ्दा तयारी पोसाकको मूल्य पनि बढ्दै गएको उत्पादकहरूको भनाइ छ ।  त्यस्तै अमेरिकाले भन्सार छुटका रूपमा तोकेका वस्तुको बजार खासै ठूलो नभएकोले पनि चर्चा भएअनुसार निर्यात नबढ्ने दाबी उनीहरूको छ ।  ‘अमेरिकाले दिएको छुटमा हामीले धेरै उत्पादन गर्ने वस्तु नै समावेश छैनन्’ सङ्घका अध्यक्ष अर्यालले भन्नुभयो ।  सरकारले तयारी पोसाकको निर्यात प्रवद्र्धनलाई प्राथमिकतामा राखेर नयाँ कार्यक्रम लागू गर्न नसके यसको निर्यात आगामी वर्ष अझै ठूलो दरले थप घट्दै जाने उहाँले बताउनुभयो ।
तयारी पोसाक उत्पादकले सरकारसँग यसअघि यसको निर्यातमा प्रदान गरिने नगद प्रोत्साहनलाई १० प्रतिशत पु¥याउन माग गरेका थिए ।  अहिले यसको निर्यातमा बढीमा दुई प्रतिशतसम्म नगद प्रोत्साहन उत्पादकले पाउँदै आएका छन् ।  नगद प्रोत्साहन बढाइएको अवस्थामा तयारी पोसाकको बजार मूल्य पनि अन्य देशकै समान निर्धारण गर्नसकिने र यसले निर्यात पनि बढ्ने उनीहरूको दाबी छ ।
व्यापार तथा निर्यात प्रबद्र्धन केन्द्रका अनुसार चालु आर्थिक वर्षको चैतसम्म नेपालबाट तीन अर्ब ९७ करोड ४६ लाख रुपियाँ बराबरको तयारी पोसाक निर्यात भएको छ ।  यो मूल्य अघिल्लो आर्थिक वर्षको तुलनामा करिब १० प्रतिशतले कम हो ।  अघिल्लो आवको चैत महिनासम्म मात्रै करिब चार अर्ब ४० करोड रुपियाँको तयारी पोसाक निर्यात भएको थियो ।  अमेरिकाले वि.सं. २०७२ फागुन १२ गते नेपाललाई करिब पाँच दर्जन तयारी पोसाकको निर्यातमा भन्सार छुट दिने निर्णय गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय